विराटनगर : प्रदेश १ सरकारले नवौँ राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । 

सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने सम्भावना भएका खेलहरूलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ । आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी सुरु गर्ने निर्णय गरेको हो । 

बोर्ड बैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिता अनुकूल समयमा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख फडिन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेशको खेल सम्बन्धी नीति, रणनीति तयारीका लागि प्रदेश १ का खेलकुदका पदाधिकारीहरूको चाँडै बैठक बसेर छलफल गर्ने पनि निर्णय गरिएको छ । खेलकुद क्षेत्रको विकासका लागि साँझेदार संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूसँग सहकार्यका लागि आग्रह गर्ने बोर्ड बैठकले निर्णय गरेको महाशाखा प्रमुख खत्रीले बताए । 

चालु आर्थिक वर्षको बजेटबाट खेलकुद क्षेत्रमा गर्न सकिने कार्यहरूको योजना बनाई बजेट माग गर्ने निर्णय समेत भएको खत्रीले जानकारी दिए ।