झापा : नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्कीले सत्तारुढ दल सम्मिलित गठबन्धनको सरकारले आसन्न स्थानीय तहको निर्वाचन सार्न कुचेष्टा गरे त्यस विरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

झापाको दमकमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै पनि बहाना बनाएर निर्वाचन सार्न खोजे त्यो संविधान प्रतिकुल हुने र एमालेलाई त्यो स्वीकार्य नहुने उनले बताए । नयाँ वर्षसँगै यस वर्ष निर्वाचनमय हुने भन्दै उनले त्यसका लागि सरकार र सरकारका बाहिरका राजनीतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए । 

एमाले सरकार विरुद्धको सबै खाले गठबन्धन विरुद्ध निर्वाचनमा होमिएको बताउँदै उनले सरकारी रवैयाका बाबजुद आफ्नो पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । एमालेप्रति देशैभरि जनलहर आएको दाबी गर्दे उनले सत्तारुढ दलको सबै खाले गठबन्धन र षडयन्त्र विरुद्ध एमालेले जनताको विश्वास जित्ने दाबी गरे ।

नेता कार्कीले विराटनगरको मेयरका लागि जीवन घिमिरे ह्यावी वेट भएको उम्मेदवार हुन सक्ने बताए । जिल्ला कमिटीले बुधवार पालिकाका आकाङ्क्षीहरूको नाम केन्द्रमा पठाउँदा घिमिरेको नाम समावेश नभए पनि घिमिरेले बैठकमा आकाङ्क्षा देखाएकाले उनी विराटनगरको मेयरको उम्मेदवारका रूपमा भने आउन सक्ने नेता कार्कीले उल्लेख गरे । 

यस्तै नेता कार्कीले नेकपा एमालेले केही ठाउँमा माओवादी केन्द्रसँग पनि तालमेल गरेर जान सक्ने स्थिति रहेको पनि खुलासा गरे । तर, माओवादी र एकीकृत समाजवादीसँग भने गठबन्धन नै गरेर अघि बढ्न सक्ने  परिस्थिति चाही नरहेको उनले प्रस्ट पारेका छन् ।