धरान : मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बुधवार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एभरेस्टका नगेन्द्रमणि लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार, भेषराज लिम्बू र मदन राईले गोल गरे भने दुधेका मनोज लिम्बू, भीष्म प्रसाद खरेल, सन्तोष लिम्बू र भीम सुब्बाले गोल गर्दा हेमप्रसाद चेम्जोङको प्रहार बाहिरिँदा दुधेले हार बेहोर्‍यो । 

खेलको दोस्रो मिनेटमा नै एभरेस्टका सतिस केसीले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर दुधेका भीष्मप्रसाद खरेलले १६ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ८ औ मिनेटमा सन्तोष लिम्बूले दुधेको तर्फबाट गोल गरी टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटमा एभरेस्टका सतिस केसीले गोल गर्दै खेल पुनः बराबरीमा पुर्‍याएका थिए । खेलको म्यान अफ द म्याच एभरेस्टका नरेन्द्र लिम्बू घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

बिहीबार लेटाङ भेट्रान र दमक लखनपुर भेट्रानले अन्तिम सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । हाम्रो धरान भेट्रान क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ४० वर्ष माथि उमेर समूहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।