धरान : धरानमा निकै लामो छलफल, संम्वाद पछि गएराति चार दलीय गठबन्धन भएको घोषणा गर्न आयोजित चार दलीय गठबन्धनको पत्रकार सम्मेलन काँग्रेसकै असन्तुष्ट समूहले विथोलेकोे छ । 

चार दलीय गठबन्धनले गरेको निर्णय र गठबन्धन कसरी स्थानीय निर्वाचनमा अघि बढ्छ भन्नेबारेमा पत्रकारलाई जानकारी दिने कार्यक्रममा गठबन्धन दल नेकपा एकीकृत समाजवादी धरान उपमहानगर अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टीका धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बु, नेकपा माओवादीबाट पूर्व सांसद किरणकुमार राई, नेपाली काँग्रेसबाट उमेश थापा लगायतले सम्बोधन गरिसकेका थिए ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम राईले सम्बोधन गर्दै गर्दा नेपाली काँग्रेसका असन्तुष्ट समूहले नाराबाजी गर्दै मञ्च तर्फ अघि बढ्दा पत्रकार सम्मेलन नै बिथोलिएको हो । काँग्रेसको विरोधका कारण नेता भीम राईले बोल्नै पाएनन् । गठबन्धन आफूखुसी नेपाली काँग्रेसले गरेको भन्दै असन्तुष्ट समूहले मञ्चमा रहेका नेताहरूतर्फ अघि बढेपछि पत्रकार सम्मेलन त्यतिकै समापन भएको नेपाली काँग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले घोषणा गरे ।

उनीहरूले गठबन्धनको सहमति हुँदै गर्दा धरान, क्षेत्रीय कार्यसमितिले बुथ सभापतिहरूसँग सल्लाह नगरेको र आफूखुसी वडाहरू बाँडफाँड गरेको भन्दै नेतृत्वको चर्को विरोध गरे । विरोधमा उत्रिएकाहरूले गठबन्धनको भने विरोध नगरेको दाबी गरेका थिए । 

काँग्रेस बलियो भए पनि वडा नं १७, १५, १९, १०, ३ लगायत वडाहरू गठबन्धनको नाममा अन्य पार्टीलाई दिएको भन्दै उनीहरूले विरोध गरे । यसरी गठबन्धन गरेर आउने निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा खाका प्रस्तुत गर्ने कार्यक्रममा नेपाली काँग्रेसकै केही असन्तुष्ट समूहले विरोध गरेपछि गठबन्धन बलियो नहुने सङ्केत देखिएको छ । 

चार दलीय गठबन्धनमा कस्तो सहमति भएको थियो ? 

निकै लामो रस्साकस्सी पछि गएराति चार दलीय गठबन्धनले मेयर सहित नेपाली काँग्रेसले वडानं. १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ नम्बर वडाको वडाध्यक्ष लिनेमा सहमति भएको थियो । 

यस्तै नेकपा माओवादी केन्द्रले उपमेयर सहित वडानं. ३, १५, १७, र २० वडाको वडाध्यक्षमा सहमति भएको थियो । यसैगरी जनता समाजवादी पार्टीले वडानं. १० र १९, नेकपा एकीकृत समाजवादी पार्टीले ४ नम्बर वडाको वडाध्यक्षमा सहमति भएको थियो ।