धरान : सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । 
बुधवार राती पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७  प ३२४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हसनपुर स्थित नहरको पुलबाट एक्कासि नहरमा खस्दा मोटरसाइकल तथा चालक समेत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।
खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाइकल सहित चालक रामधुनी नगरपालिका–८ का ४३ वर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । नहरमा खसी मृत फेला परेका चौधरीको कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी धरानको बिपी कोईरालका स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।