धरान : अखिल नेपाल फुटबल सङ्घ एन्फाको केन्द्रीय निर्णय अनुसार वैशाख १० गतेसम्ममा एन्फामा आबद्ध सबै जिल्ला शाखाहरूको अधिवेशन सम्पन्न गर्नुपर्ने परिपत्र छ । 

देशका अधिकांश जिल्लामा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन प्रक्रिया सम्पन्न भएका छन् भने कतिपय जिल्लामा शुक्रवार र शनिवार पनि अधिवेशन हुदैछन । एन्फाको शक्तिशाली जिल्लाको रूपमा हेरिएको झापा र मोरङको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेसँगै सुनसरीको अधिवेशनलाई चासोको रूपमा हेरिएको थियो । 

अधिवेशन उद्धघाटनसत्र सम्म पनि अध्यक्षको लागि चुनाव हुने अनुमान गरिएको थियो । निवर्तमान कोषाध्यक्ष कोबितजंग कार्कीले आफ्नो फेसबुक मार्फत अध्यक्षको उम्मेदवारी घोषणा गरेसँगै सुनसरीमा निर्वाचन हुने अनुमान गरिएको थियो । अन्ततः एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि दीपक राईको पहलमा कार्कीलाई एन्फाको विधान अनुसार महासचिवमा मनोनीत गर्ने सहमतिसँगै सर्वसम्मत नेतृत्व चयन प्रक्रियाले मूर्तरूप लिएको हो । 

अध्यक्षको दाबेदारको रूपमा रहेका नवीन राई र कोबितजंग कार्कीबिच चुनाव हुने अनुमान गरिए पनि अन्ततः कार्की पछि हटेपछि सर्वसम्मत नेतृत्व चयन प्रक्रिया सफल भएको हो । कार्की एन्फाको केन्द्रीय अध्यक्ष कर्माछिरिङ्ग शेर्पा निकट मानिन्छन् भने राई वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ निकट मानिन्छन् ।

राईको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्वाचित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सुनसरीको अध्यक्षमा नवीन राई सर्वसम्मत निर्वाचित भएका छन् । 

बिहीबार भएको अधिवेशनबाट राईको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा दुहबीका दयानन्द रौनियार, इनरुवाका मनोज थापामगर र बराहक्षेत्रका भेषराज कार्की चुनिएका छन् ।

सदस्यहरूमा दुहबीका बाबुरामप्रसाद बजगाईँ, देवचरण बहरदार, पशुपतिकुमार सरदार, इटहरीका केशवकुमार कार्की, प्रकाश कोइराला, धरानका प्रताप तामाङ, घनश्याम बुढाथोकी र धनबहादुर राई रहेका छन् । महिला सदस्यमा शारदा लिम्बु निर्वाचित भएको निर्वाचन समिति सदस्य अर्जुन सुवेदीले जानकारी दिए । 

यसैबिच आजै बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले विधानअनुसार कोषाध्यक्षमा धरानका सतिश केसी र महासचिवमा इटहरीका कोबिदजंग कार्कीलाई मनोनीत गरेको नवनिर्वाचित अध्यक्ष नवीन राईले जानकारी दिए ।