धरान : धरानमा सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय निर्वाचनमा जित निकाल्ने भन्दै निकै लामो समय सम्म रस्साकस्सी चले पछि बुधवार बल्ल चार दलीय गठबन्धन हुने सहमति भयो । 

चार दलीय गठबन्धन भएर गठबन्धनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन नै विथोल्नेगरी गठबन्धन दलको नेतृत्व गर्ने नेपाली काँग्रेसका केही समूहले चर्को विरोध गरे । उनीहरूले गठबन्धनको सहमति हुँदै गर्दा धरान उपमहानगर कमिटी र क्षेत्रीय कार्यसमितिले बुथ सभापतिहरूसँग सल्लाह नगरेको र आफूखुसी वडाहरू बाँडफाँड गरेको भन्दै नेतृत्वको चर्को विरोध गरेका थिए ।

पत्रकार सम्मेलन नै विथोल्नेगरी भएको विरोधका कारण चार दलीय गठबन्धन धरानमा तोडिएको हो की भनेर धरानवासीले अड्कलबाजी गरिरहेका छन् । गठबन्धन दलको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसकै केही समूहले गठबन्धनको कार्यक्रम विथोलिनेगरी विरोध गरेपछि अहिले धरानको राजनीतिक वृत्तमा गठबन्धनको खासै प्रभाव नपार्ने दाबी गर्न थालिएको छ । 

यसरी गठबन्धन नै नरहने हो की भनेर अड्कलबाजी भइरहँदा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले भने केन्द्रीय नीति अनुसार यहाँ पनि गठबन्धन भएको हो । यो गठबन्धन टुट्दैन स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकामा जित निकाल्ने गरी अघि बढ्ने दाबी गरे ।