धरान : जिल्ला निर्वाचन कार्यालय सुनसरीको आयोजनामा एक दिने एकीकृत निर्वाचन व्यवस्थापन सम्बन्धीको तालिम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय इनरुवामा शुक्रवार सम्पन्न तालिममा सुनसरीका १२ वटा स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कम्प्युटर अप्रेटरहरुलाई निर्वाचनमा हुने गतिविधिहरू व्यवस्थितरुपमा कम्प्युटरमा इन्ट्री गर्नेबारेमा तालिम दिइएको थियो । 

निर्वाचन कार्यातालिका वैशाख ११ गते सुरु भएर ३० गते मतदान पछिको मत परिणाम सम्मको गतिविधिलाई व्यवस्थितरुपमा कसरी कम्प्युटरमा इन्ट्री गर्ने भन्ने बारेमा तालिममा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

तालिमको सहजीकरण जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले गरेका थिए । कार्यक्रमको उद्घाटन जिल्ला निर्वाचन कार्यालय सुनसरीका जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले गरेका थिए ।