इटहरी : आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उपमेयरमा शैलेश कुमार विष्टको सम्भावना देखिएको छ। गठबन्धनमा आबद्ध दलमध्ये नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट उनले उम्मेदवारी दिन लागेका हुन् ।
नेकपा एस सहित ५ दलीय गठबन्धनको निर्णय अनुसार मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एसको भागबण्डा भए अनुसार विष्टको सम्भावना बढेको हो। व्यवसायीक तथा सामाजिक क्षेत्रबाट राजनीतिमा उदाएका विष्ट इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षको उम्मेदवार समेत भएका थिए ।
इटहरीका प्रभावशाली नेतालाई उम्मेदवार बनाउने नेकपा एसको तयारी छ। सोही अनुसार सामाजिक तथा राजनैतिक क्षेत्रमा प्रभाशाली मानिएका विष्टलाई उम्मेदवार बनाउन लागिएको हो । 
इटहरी जेसीजको पूर्व अध्यक्ष समेत रहेका विष्ट सामाजिक तथा राजनैतिक क्षेत्रमा सक्रिय छन् । नेकपा एसको सुनसरी जिल्ला सचिवालय सदस्य विष्ट राजनीतिलाई व्यवसाय भन्दा फरक सेवा भावले लिएको बताउँछन् । व्यवसायीक र सामाजिक क्षेत्रभन्दा राजनीतिबाट समाजसेवा प्रभावकारी हुने उनको बुझाई छ ।
नेकपा एस निकट राष्ट्रिय उद्योग व्यवसायी सङ्घको केन्द्रीय उपाध्यक्षको पदमा रहेका उनले इटहरीलाई व्यवसायकै केन्द्रको रूपमा स्थापित गर्न खोजेको बताए । इटहरीको मुख्य परिचय भनेकै व्यवसाय र त्यसमा पनि ट्रेडिङ बिजनेस भएकाले त्यसैको उत्थानमा आफू लागिपर्ने उनको भनाई छ । 
केशव कुमार विष्ट राखेपको सदस्य सचिव हुँदा निर्माण भएको इटहरी रङ्गशालालाई व्यवसायीक रूपमा विकाश गर्ने उनको योजना छ । तेक्वान्दो सङ्घको प्रदेश १ अध्यक्ष भएका उनले खेलकुदलाई आर्थिक आम्दानी सँग जोड्न सकिने बताए । इटहरीलाई खेलकुदको हबको रूपमा विकाश गर्दा त्यसको प्रत्यक्ष फाइदा उपमहानगरलाई पर्ने उनको बुझाई छ । 
इटहरीमा कम्युनिस्टको जग बसाउने मध्येका एक रमेश कुमार विष्टका छोरा शैलेशले नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरेका हुन् ।