इटहरी : स्वास्थ्य लाइभमा प्रकाशित समाचार प्रति धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले आपत्ति जनाएकी छिन् । वैशाख ८ गते 'बिपी प्रतिष्ठान डुबाउने भण्डारी धरानको मेयरमा सिफारिस' शीर्षकको समाचारमा उनले खण्डन गरेकी हुन् । 
स्वास्थ्य लाइभले कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी छिन्। फेसबुक मार्फत उनले आफू कार्यवाहक मेयर हुँदा पदेन सिनेट सदस्यका नाताले बिपी प्रतिष्ठान सुधार र विकासका लागि दर्ज गरेको लिखित प्रस्ताव सुरक्षित रहेको बताएकी हुन् ।
"बिपी समस्या रहित छैन । तर यहाँ भएका सकारात्मक विषय बाहिर आउन सकेका छैनन् । व्यवस्थापकीय अव्यवस्थाको जड अति धेरै दलीय राजनीतिकरण नै हो भन्ने विषयमा म मात्रै होइन सबै प्रस्ट नै छौ। प्रतिष्ठान को उन्नतिका लागि पूर्ववर्ती एमालेको के पी ओली सरकारले स्वीकृत गरी बजेट समेत विनियोजन गरेको २०० शय्याको मुटु रोग र २०० शय्याको क्यान्सर रोग अस्पताल निर्माण कार्य अघि बढेको थियो । अनि निर्माणाधीन मातृ शिशु अस्पताल सहज रूपमा बन्न पाएको थियो । आज प्रतिष्ठानको सान कहाँ पुगेको हुने थियो ?," उनले लेखेकी छिन् । 
स्वास्थ्य लाइभले समाचार बनाउने आफ्नो भनाई लिनुपर्ने पत्रकारिताको सामान्य धर्म पनि निर्वाह नगरेको उनको आरोप छ। सो समाचार निराधार, कपोलकल्पित, तथ्यहीन र भ्रामक रहेको उनको भनाई छ । बिपी सुधारमा सबैको दायित्व भएकोले यसमा आफू सधैँ दृढ र प्रतिबद्ध रहेको उनले प्रस्ट पारिन ।
वैशाख ८ गते बिहीबार विना बाइलाइनको समाचारमा धरान उपमहानगरपालिकाकी उपमेयर माथि आरोप लगाइएको हो । भाषिक शुद्धता विनाको समाचारमा विना आधार आरोप लगाइएको देखिन्छ । किर्ते प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिलाई बोकेर प्रतिष्ठानलाई धराशायी बनाएको आरोप छ ।
उपमेयर तथा कार्यवाहक मेयर हुँदा भ्रष्ट कर्मचारीलाई बोकेर हिँडिन् भनीएपनि समाचारमा कसलाई कुन मुद्दामा बोकेको प्रस्ट छैन । धराने जनताको भावना विपरीत काम गरेको आरोप लागेको उल्लेख भएको तर कसले आरोप लगाएको कुनै आधार खुलाइएको छैन । धराने जनता घोपा बचाऊँ अभियानमा निस्किएको कुरालाई आधार बनाएर उपमेयर भण्डारीलाई दोषी देखाउन खोजिएको छ । भण्डारीको नाम मेयरमा सिफारिस भएपछि तरङ्ग उत्पन्न भएको हास्यास्पद तर्क गरिएको छ । धराने जनताले उचित जवाफ दिने अवस्था आएको समाचारमा उल्लेख गरिएको छ ।