धरान : धरान उपमहानगरपालिका १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले नेपाली काँग्रेस परित्याग गरी राप्रपाबाट वडाध्यक्षको उम्मेदवारी दिने भएका छन्।
नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवार आकाङ्क्षी रहेका भट्टराईलाई काँग्रेसले अर्को आकाङ्क्षीलाई वडाध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कारण धरान-१४ का केही काँग्रेस कार्यकर्ता सहित उनले आज बिहान नेपाली काँग्रेसको क्रियाशील सदस्यबाट राजीनामा दिएको उनले बताए । 
पार्टीमा आफूले गरेको कामको मूल्याङ्कन नगरेको र आफ्नो आकाङ्क्षा फेरि पनि वडामा आफ्नो कार्यकालमा गरेका अधुरा कामहरू पुरा गर्ने आफ्नो लक्ष रहेकोले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४ नम्बर वडाका लागि वडाध्यक्षको उम्मेदवारीमा उम्मेदवारी दर्ता गर्दै गरेको बताए।
राप्रपाका धरान नगर अध्यक्ष नवीन पराजुलीले यस विषयमा कुरा चलिरहेको र राप्रपामा आए वडाध्यक्षको टिकट दिन तयार रहेको बताए ।  भट्टराई नेपाली काङ्ग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् ।