धरान : धरान उपमहानगरपालिकामा वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारको विरुद्धमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

धरानमा मेयरमा २२ जना, उपमेयरमा ११ जना, वडाध्यक्षमा १२४ जना, खुल्ला तर्फ वडा सदस्यमा १६६ जना, महिला सदस्यमा ७६ जना, दलित महिला सदस्यमा ७२ जना गरी जम्मा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।

३० वैशाखमा सम्पन्न हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार ५ बजे सम्म उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकेको थियो । सो अवधिमा कुनै पनि उजुरी नपरेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । वैशाख १४ र १५ गते निर्वाचन आयोगले उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध दिएको उजुरीको दाबी विरोध गर्ने समय तोकेको छ । १४ गते बुधवार एउटा पनि उजुरी नपरे पछि दाबी विरोध पनि नभएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

१५ गते बिहीबार पनि कुनै दावीविरोध नआएमा साँझ ५ बजे निर्वाचन अधिकृतको कार्यालयले निर्णय सार्वजनिक गर्नेछ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय भएकोले सो दिन साँझ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १७ गते शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । 

१८ गते देखि राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा लाग्नेछन् । चुनावी प्रचार प्रसार निर्वाचनको मौन अवधि भन्दा अघि सम्म वैशाख २७ गते मध्यराती सम्म चुनाव प्रचारप्रसार गर्न पाउनेछन् । 

बिहीबार सर्वदलीय बैठक बस्दै 

स्थानीय तहको निर्वाचनलाई सभ्य र म्र्यदित तरिकाले सम्पन्न गराउनका लागि निर्वाचन आचार संहिताको बारेमा बिहीबार सर्वदलीय बैठक बस्दै छ । 

सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार निर्वाचनमा भाग लिएका सबै राजनितिक दल, स्वतन्त्र उम्मेदवार र सुरक्षाकर्मीहरूको संयुक्त सहभागिता रहने सर्वदलीय बैठक बसेर निर्वाचन आचार संहितालाई कार्यान्वयन गर्ने गरी निर्णय गर्ने छ ।