विराटनगर : नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतदातासँग भेटघाट गर्ने घरदैलो कार्यक्रमलाई गति दिएको छ । 

मेयर पदका उम्मेदवार नागेश कोइराला सहित वडाका अन्य विभिन्न पदका उम्मेदवार सहित घरदैलो अभियानलाई गति दिइएको हो । 

विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली काँग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी भएका छन् । कोइरालाको पक्षमा जनमत सिर्जना गर्न केन्द्रीय नेता उम्मेदवारसँगै सक्रिय भएका हुन । 

घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्याशी कोइरालाले अब काँग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहनाअनुरूप विकास निर्माणलाई अघि बढाउने बताए । उनले भने,“विराटनगरको विकासमा विगतदेखि नै काँग्रेसको योगदान रही आएको छ । अब फेरि नयाँ परिस्थिति र समय सुहाउँदो महानगरको निर्माण नै हाम्रो अभियान हो ।” कोइरालाको आफू जनअपेक्षा अनुरूप नै काम गर्न उम्मेदवार बनेको स्पष्ट गरे । 

काँग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उम्मेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास काँग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने बताए ।