धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुनसरीमा एकीकृत सुरक्षा योजना कार्यान्वयन गरेर लाने बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले  इटहरीमा आयोजना गरेको स्थानीय तह निर्वाचन रिपोर्टिङ प्रशिक्षण कार्यक्रम पूर्व भएको अन्तरक्रिया कार्यक्रममा प्रजिअ यादवले सो कुरा बताएका हुन । सुनसरीका १२ स्थानीय तह मध्ये २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकाको १ सय २४ वटा वडामा १ सय ६६ वटा मतदान स्थल तोकिएको छ ।

जसमा ५ सय ८१ वटा मतदान केन्द्र तोकिएको छ । ती मध्ये ४४ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ४२ वटा मतदान स्थल सामान्य सुचीमा वर्गीकरण गरिएको छ । वर्गीकरण गरिएका सुची अनुसार सुरक्षा व्यवस्था मिलाएको बताउँदै प्रमुख जिल्ला अधिकारी यादवले वर्गीकरण गरिएको सामान्यको सुचीमा परेको मतदान स्थल पनि अति संवेदनशील हुनसक्ने बताए ।

निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन गर्नुपर्ने सम्पूर्ण काम अहिले सुनसरीमा तीव्र गतिमा भइरहेको बताउँदै जिल्लामा तीन तहमा सुरक्षाकर्मी परिचालन हुने पनि बताए । निर्वाचन आचार संहितालाई पनि पूर्ण पालना गर्न र गराउन उनले सबैलाई आग्रह समेत गरे ।