धरान : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि गत वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरु मध्ये धरानमा २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत  गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीका अमृता सुनारले आफ्नो उम्मेदवारी फिर्ता लएका हुन् । 

यसैगरी ९ जना वडाध्यक्षहरूले पनि उम्मेदवारी फिर्ता लिएका छन्। वडाध्यक्षबाट उम्मेदवारी फिर्ता लिनेहरूमा नेकपा माओवादी केन्द्रबाट धरान-२ का पिङ्की अग्रवाल, धरान-६ का लोकबहादुर खडका, धरान-९ का रविन श्रेष्ठ, धरान-१२ का गङ्गा बराल पौडेल, धरान-१४ का दलबहादुर कठियत र धरान-१६ बाट प्रेमबहादुर तामाङ रहेका छन् । 

वडाध्यक्षबाट नेपाली काङ्ग्रेसबाट गणेश बजगाईँ, स्वतन्त्रबाट २ जना वडाध्यक्ष धरान-२ बाट गणेश प्रधान, धरान-१६ बाट प्रेम बहादुर तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता लिनेहरूमा खुल्ला सदस्य तर्फ ७ जना, जसमा नेकपा माओवादी केन्द्रबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट १ जना र नेपाली काङ्ग्रेसबाट १ जना रहेका छन् । महिला सदस्यबाट उम्मेदवारी फिर्ता लिनेहरूमा नेकपा माओवादी केन्द्रबाट ३ जना र नेपाली काङ्ग्रेसबाट १ जना गरी जम्मा ४ जनाले फिर्ता लिएका छन् । दलित महिला सदस्यबाट १ जना गरी जम्मा धरानबाट २ मेयर, १ उपमेयर सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता भइसकेपछि शुक्रवार साँझ निर्वाचन अधिकृतको कार्यालय धरानले ४ सय ४७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने छ। 

Namlist