धरान : हाल अव्यवस्थित रूपमा अमर्यादित तरिकाले उद्योगहरूमा भइरहेको विद्युत् अवरोध विरुद्ध सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले गैर जिम्मेवारीपूर्ण तरिकाले विद्युत् अवरोध रहिरहने हो भने मजदुरहरूलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । 

सुनसरी उद्योग वाणिज्य सङ्घको तर्फबाट प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयमा विद्युत् अनियमितताको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका छन् । विद्युत् प्राधिकरणले सुनसरीमा विभिन्न उद्योग, कलकारखानाहरूलाई हाल गैर जिम्मेवारी पूर्वक तालिका नै नबनाई लोडसेडिङ गरेकाले त्यसको विरुद्धमा ज्ञापन पत्र बुझाइएको सापकोटाले बताए । 

सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार प्रदेश नं. १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राई, नेपाल विद्युत् प्राधिकरण काठमाण्डौं, , नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल विद्युत् प्राधिकरण प्रदेश नं. १ र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ मा बोधार्थ गरी ज्ञापन पत्र प्रदान बुझाइएको थियो ।

सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले वाचन गरी प्रदान गरिएको उक्त ज्ञापन पत्रमा “विद्युत् आपूर्तिमा भएको अवरोधका कारण उद्योगहरूको नियमित उत्पादन प्रक्रिया बाध्यतावश बन्द गर्नुपर्ने अवस्था सिर्जना भई श्रमिकहरूको सिफ्ट अनुसार काम नहुने, वैदेशिक ग्राहकको अर्डर समयमा पुरा गर्न नसक्दा निर्यात कार्यमा अवरोध हुने र पटक पटक पावर अनियमितताको कारणले नियमित प्रोसेसिङ्ग प्लान्टको उत्पादन प्रक्रियामा ठुलो क्षति व्यहोर्नु परिरहेको” उल्लेख गरिएको छ । 

सुनसरीको खनारमा रहेको नेपालकै सबैभन्दा धेरै रोजगार दाता उद्योग श्री रिलायन्स स्पिनिङ्ग मिल्स नेपालमै सबैभन्दा बढी विद्युत् महसुल भुक्तान गर्ने उद्योग रहेको छ । उक्त उद्योगका उपाध्यक्ष महेश पोख्रेलले हाल बढ्दो महँगी, अप्रत्याशित इन्धनको मूल्यवृद्धि र बिना सूचना लामो समयसम्म हुने विद्युत् अवरोधले उद्योग सञ्चालन प्रक्रियामा ज्यादै सास्ती भइरहेको बताए । 

Udheyog-barnijya-1CM-1 1CM-2 1E-1E-2