धरान : मतातिर्थ औँसीका दिन सहिद लिलाप्रसाद पराजुलीकी आमा हरिमाया पराजुली सम्मानित भएकी छन् ।

शनिवार सहिदकी आमा पराजुलीलाई वाम लोकतान्त्रिक गठबन्धन धरानका उम्मेदवारहरूले सम्मान गरेका हुन् । गठबन्धनका धरान प्रमुखका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघाले सम्मान गरेका हुन् ।

स्थानीय तहको निर्वाचनको घरदैलो कार्यक्रममा सम्मान गरेका हुन् । सहिद पराजुली २३ वर्षको उमेरमा घरबाट बेपत्ता भएका थिए । २० वर्ष बितिसक्दा पनि छोरो घर नफर्किएको हरिमायाको भनाई छ । उनले भनिन् ‘जनयुद्धको समयमा साथीहरूसँग घरबाट निस्केको थियो, अहिलेसम्म फर्किएन । अन्य साथीहरू घर फर्किए ।’

उनले भनिन्, ‘पार्टीका मान्छेले छोरो सहिद भएको खबर दिए तर लास देख्न पाएनौँ ।’ गठबन्धनका उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघाले धरानका युवाहरूको साथ र वृद्ध वृद्धा आमाबुवाहरूको आशीर्वादले मनोबल बढेको बताए ।

Sahid-Aama