धरान : इटहरीमा विकासको अर्को युग सुरु हुन लागेको एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले बताएका छन् ।

उनले अघिल्लो पाँच वर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँ युग सुरु गर्ने बताएका हुन् । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पूर्वाधारका धेरै कामहरू अघिल्लो पाँच वर्षमा भएको बताउँदै अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा इटहरीका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताए । 

उनले विज्ञहरूको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने बताए । ‘नेकपा एमाले गाउँ गाउँमा जनतालाई सङ्गठित गर्ने र चेतनाको बिगुल फुक्ने काम गरेर आएको पार्टी हो,’ उनले भने, ‘त्यसैले एमालेले गर्ने काम दीर्घकालीन विकासका लागि हुन्छ ।’

उनले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरूलाई धन्यवाद दिँदै अर्को नयाँ विकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह समेत गरे ।

‘इटहरीमा बसोबास र सहरीकरणको जुनगत छ, त्यहीगतीमा इटहरीको विकासलाई लानको लागि यसअघि राम्रो आधार तयार भएको छ,’ उनले भने, ‘अब त्यसलाई थप गतीदिन प्रतिबद्ध छु ।’

सुब्बाले आफू आर्थिक रूपमा कहिल्यै विवादित नभएको र अब पनि इमानदारितापूर्वक भ्रष्टाचारलाई शून्यमा झारेर काम गर्ने बताए । ‘हिजोका जनप्रतिनिधिहरूले, मेयर उपमेयरले पनि आफूलाई भन्दा पनि विकासलाई केन्द्रमा राखेर इमानदारितापूर्वक काम गर्नुभयो,’ उनले भने ‘म पनि इमानदारितापूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले काम गर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षा गर्दछु।’