धरान : धरान-१४ विजयपुरबासीले विजयपुर क्षेत्रलाई धरानको धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न माग गरेका छन् । 

विगतमा पनि धरानको शिर मानिएको विजयपुर क्षेत्र धार्मिक पर्यटकीय हिसाबले निकै ठुलो सम्भावना बोकेको भए पनि यसमा कसैको ध्यान जान नसकेकोमा विजयपुरबासीको दुखेसो छ । 

विजयपुरबासीले आइतबार धरान-१४ मा घर दैलो कार्यक्रमको क्रममा पुगेका लोकतान्त्रिक बाम गठबन्धनका मेयरका उम्मेदवार काङ्ग्रेसका  किशोर राई र उपमेयर माओवादीका अइन्द्र बेघालाई यस्तो माग गरेका हुन् ।  

घरदैलोका क्रममा प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रमा पुग्दा स्थानीय बासिले विजयपुरलाई  धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न  सुझाव दिए । पिन्डेश्वर मन्दिर नजिकै रुद्राक्षको व्यापार गर्दै आएका सन्तोष लामिछानेले पर्यटकहरूलाई आकर्षण गर्ने योजना ल्याउन उम्मेद्वारहरु समक्ष माग गरे । उनले भने –“यो पर्यटकीय ठाउँ हो तर हामीलाई प्लास्टिकको छानो मुनि रुद्राक्ष व्यवसाय गरेर बसेका छौ, सटरहरू  बनाई दिएर हामीलाई व्यवस्थित गरिदिए हुन्थ्यो“।

अर्का स्थानीय अमर गुरुङले यति प्रसिद्ध  पर्यटकीय ठाउँ भएर पनि अपेक्षा अनुसार पर्यटकहरू नआएको बताए । यो ठाउँलाई  पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनाउन सके नगरले मनग्गे आम्दानी गर्ने गुरुङको भनाई छ । मेयरका उम्मेदवार राईले आफूहरूले जितेर गए पछि धरानको पर्यटनको सवालमा विजयपुरलाई नै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पहिलो प्राथमिकता दिने बताए । त्यस्तै उप–मेयरका उम्मेदवार अइन्द्र विक्रम बेघाले विजयपुरलाई बृहत्तर धार्मिक क्षेत्रको रूपमा विकास गरिने  बताए ।