धरान : नेपाल ट्रेड युनियन महासङ्घ धरान उपमहानगर कमिटीद्वारा आयोजित १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस धरानको भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । मजदुर दिवसको शुभकामना दिँदै उम्मेदवार भण्डारीले ट्याम्पो तथा सिटिसफारी  दैनिक २५ रुपैयाँका दरले तिरिरहेको कर ३ रुपैयाँमा झार्ने बताइन । उनले वार्षिक रूपमा ९ हजार १ सय २५ रुपैयाँ तिर्दै आइरहेको यो कर धेरै भएको भन्दै घटाउने बताइन।

त्यसै गरी कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका पूर्व अध्यक्ष मोतीराज सुनुवारले मजदुरलाई लगाइएको ट्राफिक नियमबाट मजदुरहरू पीडित हुने गरेको भन्दै व्यवहारिक रूपमा कार्यान्वयन गर्न उचित हुने गरी नियम कानुन बनाउन लागि पर्ने बताए । उनले अनिवार्य रूपमा लगाउनुपर्ने ज्याकेटले मजदुरलाई झन्झट भएको र ज्याकेटकै कारण फाइनमा पर्ने र कतिपय अवस्थामा कुटाइ खानेसम्मका घटना भएकोले त्यसलाई सच्याउन पर्ने आवश्यकता रहेको बताए। 

यसै गरी सो कार्यक्रममा उपमेयरमा उम्मेदवार रहेका पदम लिम्बुले बस बिसैनिमा भएको समस्यालाई समाधान गर्ने बताए । उनले धरान पर्यटकीय क्षेत्र भएकाले पर्यटकको घुइँचो बढी हुने भएकोले बसपार्क व्यवस्थापन हुन नसकेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा धरानको स्मार्ट बसपार्क निर्माणाधीन भएको बताउँदै भानुचोकको भिडभाड व्यवस्थित हुने दाबी गरे । 

नेपाल ट्रेड युनियन महासङ्घ धरान उपमहानगर कमिटीद्वारा आयोजित १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुद्धिजीवी, एमाले नेता, कार्यकर्ता र मजदुरहरूको ठुलो उपस्थिति रहेको थियो ।