धरान : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सुनसरीमा प्रमुख पदमा ११ जना र उपप्रमुख पदमा ६७ जना महिलाको उम्मेदवारी परेको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार प्रमुख पदमा धरान उपमहानगरपालिकामा २० जना मेयरका उम्मेदवार मध्ये ४ जना महिलाले उम्मेदवारी दिएका छन् । उपमेयरमा धरानमा १० जनाले उम्मेदवारी दिएका मध्ये ४ जना महिला रहेका छन् । 

यसै गरी इटहरी उपमहानगरपालिकामा १६ जना मेयरका उम्मेदवार मध्ये १ जना महिलाले उम्मेदवारी दिएकी छिन् भने उपमेयरमा ७ जना मध्ये ६ जना महिलाले उम्मेदवारी दिएका छन् । इनरुवा नगरपालिकामा १४ जना मेयरका उम्मेदवार मध्ये २ जना महिला रहेका छन् । उपमेयरमा १० जना उम्मेदवारमा  ७ जना महिलाले उम्मेदवारी दिएका छन् । 

दुहबी नगरपालिकामा मेयरमा ९ जनाले उम्मेदवारी दिएकोमा २ जना महिला रहेका छन् भने उपमेयरमा ६ जनामा ३ जना महिला उम्मेदवार रहेका छन् । वराहक्षेत्र नगरपालिकामा मेयरमा ९ जनाको उम्मेदवारी परेकोमा सबै पुरुष मात्रै रहेका छन् । उपमेयरमा ५ जना उम्मेदवार मध्ये ३ जना महिला रहेका छन् । रामधुनी नगरपालिकामा मेयरमा १४ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा सबै पुरुष मात्रै रहेका छन् भने उपमेयरमा ८ जना मध्ये ७ जना महिला उम्मेदवार रहेका छन् । 

यसै गरी कोशी गाउँपालिकामा १४ जनाको अध्यक्षमा उम्मेदवारी परेको छ । सबै पुरुष मात्रै रहेका छन् भने उपाध्यक्षमा ९ जना मध्ये ८ जना महिलाको उम्मेदवारी परेको छ । 

गढी गाउँपालिकाको अध्यक्षमा १० जना पुरुषको मात्रै उम्मेदवारी परेको छ । उपाध्यक्षमा ७ जना उम्मेदवार मध्ये सबै महिला मात्रै रहेका छन् । देवानगञ्ज गाउँपालिकामा अध्यक्षमा १२ जना पुरुषको मात्रै उम्मेदवारी परेको छ । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोमा सबै महिला मात्रै रहेका छन् । 

यसै गरी बर्जू गाउँपालिकामा अध्यक्षको ७ जनाको उम्मेदवारी परेकोमा १ जना महिला रहेका छन् भने उपमेयरमा ५ जनाको उम्मेदवारी परेकोमा सबै महिला मात्रै रहेका छन् । हरीनगर गाउँपालिकामा ११ जनाको अध्यक्षमा उम्मेदवारी परेकोमा १ जना महिला रहेका छन् भने उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेकोमा ५ जना महिला रहेका छन् । 

सुनसरी जिल्लामा १ सय ५० जना मेयर र अध्यक्षका उम्मेदवार मध्ये ११ जना महिला र उपमेयर र उपाध्यक्षको ८८ जना उम्मेदवार मध्ये ६७ जना महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । 

सुनसरी जिल्लामा महिला सदस्य तर्फ ५ सय ६०, दलित महिला सदस्य तर्फ ५ सय ७ जना महिला उम्मेदवारले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

संविधानतः महिला पुरुषको उम्मेदवारी प्रमुखमा महिला भए उपप्रमुखमा पुरुष हुनुपर्ने अनिवार्य रहे पनि यस पटक गठबन्धनको कारण महिला सहभागिता कम भएको राजनीतिक विश्लेषकहरूको भनाई छ ।