धरान : कोरोना महामारीका कारण दुई वर्ष नमनाइएको मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद-उल-फित्र आज मनाइँदै छ । 

एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबिच खुसी साटासाट गरी मुस्लिम समुदायले इद उल फित्र मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ। इद उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

रमजान महिनाको अन्त्य पछि चन्द्रमालाई हेरेर यो चाड मनाउने परम्परा रहेको छ । त्यस कारण इदको मिति संसारका विभिन्न देशहरूमा फरक हुने गर्दछ ।  इस्लामिक धर्मको यो पर्व मिठी इदको रूपमा पनि चिनिन्छ । किनभने यो चाडमा विशेष मीठा व्यञ्जनहरू बनाइन्छ । 

आनन्दपूर्वक दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर विशेष नमाज पाठ गरेपछि ठुलाबडा सँग आशीर्वाद लिने क्रम सुरु हुन्छ । 

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्र बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने भनाइ मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी, दिन दुःखी एवं गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गर्नुपर्छ भन्ने नियम रहेको छ । यो दान  दिन दुःखी र गरिबलाई बाँडिन्छ ।

अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने रोजाको वैज्ञानिक मान्यता समेत रहेको छ ।

३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेर्ने प्रचलन छ । सोमबार सबैले चन्द्रमाको दर्शन गरेका थिए । चाँद देखेको भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रूपमा नमाज पढी इदुल फित्र मनाउँछन् । त्यसपछि उनीहरूले एक अर्कालाई अँगालो मारेर इद मुबारक एवं बधाई साटासाट गरी घरमा गएर मीठो–मीठो खानेकुरा खान्छन् । अरू दिनभन्दा रोजाका बेला मुस्लिम महिलाहरूको भूमिका फरक र महत्त्वपूर्ण हुने गरेको छ ।

Bida