इटहरी : इटहरी उपमहानगरपालिकामा वडा नम्बर ६ को अध्यक्षमा व्यवसायीक धरातल भएका दिवस पोखरेल उम्मेदवार भएका छन्। नेपाली काँग्रेसबाट उम्मेदवार भएका उनी ६ नम्बर वडालाई व्यवसायकै केन्द्र बनाउने लाइनमा छन् । 

व्यवसाय मैत्री जनप्रतिनिधि इटहरीको आवश्यकता भएको भन्दै उनी वडाध्यक्षको उम्मेदवार भएको बताउँछन् । उद्योग वाणिज्य सङ्घमा हुँदा गर्न नसकेका कतिपय व्यवसायी हितका कामलाई जनप्रतिनिधि भएर सम्बोधन गर्ने उनले सुनाए । इटहरीको पहिचान सँग जोडिएको वडा भएकाले बजारको सौन्दर्यीकरणमा ध्यान दिने उनको योजना छ। "एक पसल दुई फुल, टेङ्ग्रा खोलामा पर्यटकीय पुल' भन्ने नाराका साथ उनी चुनावी अभियानमा छन् । 
इटहरीको मुख्य केन्द्र मानिएको वडा नम्बर ६ ले सबैको ध्यान खिचेको छ। यसअघि नेपाली काँग्रेस विजयी भएको वडामा यस पटक तीव्र प्रतिस्पर्धा देखिएको छ।  पुनः काँग्रेसलाई विजयी गराउने गरी चुनावी अभियानमा छन् अध्यक्षका उम्मेदवार पोखरेल । उनी सँगै नेकपा एमालेका उमेश पौडेल र राप्रपाका अनिल सुब्बा चुनावी मैदानमा छन्। सुब्बा र पौडेललाई पराजित गरेर इतिहास दोहोर्‍याउने लक्ष्यका साथ अगाडी बढेका छन् पोखरेल । 
इटहरी-६ का व्यवसायी देखी ग्राहकले समेत सार्वजनिक शौचालयको अभाव भोगिरहेको स्मरण गराउँदै उनले अब त्यो पिडाको अन्त्य हुने उनले उद्घोष गरे । “शौचालय जानको लागि होटेल तथा रेस्टुरेन्टको ग्राहक बन्नुपर्ने बाध्यताको अन्त्य गर्छु । सार्वजीक शौचालय नभएर इटहरी आएका आगन्तुक, ग्राहक र स्थानीयले भोगेको पिडामा अत्यन्तै दुखदायी छ । अब त्यसको अन्त्य हुन्छ,” उनले भने ।  
बजार क्षेत्रको नियमित सरसफाइ गर्ने देखी अविलम्ब ट्राफिक लाइटको प्रबन्ध गरी अव्यवस्थित पार्किङको व्यवस्थापन गर्न स्मार्ट पार्किङको अवधारणा ल्याइने उनले सुनाए । दातृ निकायबाट सहयोग मागेर भए पनि पार्किङ व्यवस्थापनलाई चुस्त दुरुस्त पारिने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ। सडक विभागसँग समन्वय गरी बजारबाट बग्ने पुराना पैनीहरूलाई व्यवस्थित गरिने देखी बजारको ढललाई अलग्गै व्यवस्थापन गरी वातावरण स्वच्छ राख्ने उनले योजना अगाडी सारेका छन् । 
वडा नम्बर  ६ र ९ मा रहेका हाटबजारलाई व्यवस्थित वडा नम्बर ९ सँग समन्वय र सहकार्य गरी हाटबजार व्यवस्थापन गरी बजार विस्तार गर्ने लक्ष्य राखेका छन् ।  कौसी खेतीलाई प्रोत्साहन गर्न आवश्यक तालिमको व्यवस्था गरी बजार क्षेत्रलाई पनि तरकारीमा आत्मनिर्भर बनाउने अभियान चलाइने उनले सुनाए । 
इटहरी जेसिज, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज, द रेयुकाई नेपाल जस्ता समाजीक क्षेत्रमा काम गरेको उनको अनुभव छ। सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत सर्प दंश उपचार केन्द्रको अध्यक्ष भएर पोखरेलले काम गरेका छन् । इटहरी उद्योग वाणिज्य सङ्घको सदस्य, उपाध्यक्ष र महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिकामा काम गरिरहेका छन् उनी । 
वडाध्यक्षका उम्मेदवार पोखरेलको टिमबाट खुल्ला महिला सदस्यमा रमला तामाङ, दलित महिला सदस्य मिना रसाइली, खुल्ला सदस्यमा दलबहादुर प्रधान (दिनेश) र नवीन तामाङ चुनावी प्रचारमा छन् ।