धरान : मृत फेला परेकी इलाम नगरपालिका-८ कि ३१ बर्षीया विनीता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय ४२ वर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ ।

वैशाख १७ गते इलाम नगरपालिका-८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका विभिन्न भाग छुट्टा छुटै भई खाल्डोमा  पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे सँगै अनुसन्धानको क्रममा रिमालसँग काफ्लेको घनिष्ठ सम्बन्ध रहेको खुले सँगै उनीहरूलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमालले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । 

यसैगरी इलामको देउमाई नगरपालिका-७ का ४५ वर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कँदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका-७ चुलिगाउँका २३ वर्षीय भुपेन राई र उनकै भाइ २० वर्षीय श्रीचन्द्र राई रहेका छन् । 

उनीहरूले कोरोनाको खोप लगाई घर फर्कँदै गरेका राईलाई बाटोमा सामान्य वादविवादकै क्रममा अन्धाधुन्ध कुटपिट गरी हत्या गरेको खुले सँगै दुवै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।