धरान : धनकुटा र झापामा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

धनकुटाको साँघुरीगढी गाउँपालिका–३ स्थित याङलिखाममा भएको मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

गए राती पौने १२ बजे साँघुरीगढी–३ कुशेटारबाट घर फर्कँदै गरेका स्थानीय ३८ वर्षीय इन्द्र बहादुर याक्खाले चलाएको को.२८प ७४७१ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा याक्खाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भइरहेको छ । मृतको शव भिरबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । 

यसै गरी झापाको कनकाई नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गए राती १० बजे सडक छेउमा रोकी राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठक्कर लागि दुर्घटना हुँदा  घाइते भएका मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ वर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेको हो ।

उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ वर्षीय हर्क बहादुर दर्जीलाई  इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।