धरान : भोजपुरको षडानन्द नगरपालिका–१४ बिहीबारे बजारमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाइते भएका छन् ।  

हिजो  बेलुका ७ बजे स्थानीय खेममणि तामाङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागी भई घर पुर्णरुपमा जली नष्ट हुँदा  उनको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनास्थलमा नै मृत्यु भएको र घर धनी खेममणि तामाङ, उनको श्रीमती  मिना तामाङलाई आगोले पोली घाइते भएकोमा उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।

आगो फस्ट राइफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानीयको  सहयोगमा राती साढे २ बजे नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट खेममणि तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान तथा  कानुनी प्रक्रिया भइरहेको छ ।