धरान : आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान तीव्र पारिएको छ ।

मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट किशोर राई उपमेयर पदमा माओवादी केन्द्रको तर्फबाट आइन्द्र विक्रम बेघा उठेका छन् । दुवै जना उम्मेदवारप्रति धरानमा जनताको विश्वास बढ्दै गएको छ । 

शुक्रवार धरान १७ स्थित पनालीका बासिन्दाले लोकतान्त्रिक गठबन्धनलाई यस पटक भोट लगाउने प्रतिबद्धता जनाएका छन् । एमालेको सरकारले धरानलाई यत्तिका वर्ष थिलथिलो बनाएको गठबन्धनका उम्मेदवार समक्ष उनीहरूले स्मरण गराए । उनीहरूले गठबन्धनका मेयर र उपमेयरका प्रत्याशीलाई पटनालीको विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्न पनि आग्रह गरे । 

काँग्रेस नगर सभापति श्याम पोख्रेलले एमालेसँग रुष्ट भएर मतदाताहरूले यस पटक लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा मत लगाउँछौँ भनेर आवाज उठाइरहेको बताए । “अहिले एमाले आफूले गरेका पहिलेका गल्तीहरूमा सच्याउँदा सच्याउँदै उसको दिन बितिरहेको छ भने हामी हामीले गरेका राम्रा कामहरूको प्रचार प्रसार गर्दै अब आगामी दिनमा बाँकी रहेका कामहरूलाई अगाडी बढाउने गरी यो लोकतान्त्रिक बाम गठबन्धन लागेको छˮ उनले भने ।

घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार किशोर राईले पटनाली मात्र नभई धरानको विकास र समृद्धिको लागि लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरे ।  साथै, उनले मतदातासँग मत माग्दै धरानमा भ्रष्टाचारमुक्त, जनताले अपेक्षा गरे अनुसारको सुनिश्चितता, विभिन्न समस्याहरूको बारेमा धरानलाई दीर्घकालीन रूपमा अगाडी बढाउनका लागि पनि लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।