धरान : लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । धरानमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी लोकतान्त्रिक बाम गठबन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउनेसम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ ।

वैशाख ३० को आसन्न स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रूपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवम् पर्यटकीय गन्तव्य स्थल बनाउने लगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाइएको छ । 

प्रतिबद्धता पत्रमा दीर्घकालीन योजनाहरू, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरूलाई समेटेको छ । यस्तै धरानलाई स्वास्थ्यको हब बनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको सुधारका लागि पहल कदमी अगाडि सार्ने, धरानका दीर्घरोगीहरुका लागि निःशुल्क औषधो उपचार प्रदान गर्ने, धरानलाई पर्यटकीय हब बनाउने, धरान तथा धरान आसपासमा रहेका क्षेत्र सँग लिङ्क रोड निर्माण गर्ने, कुरालाई समेत समेटिएको छ । 

घोषणापत्र सार्वजनिक पछि गठबन्धनबाट काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताउँदै यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाए । उनले भने-‘समुन्नत धरान बनाउनका लागि सबैसँग सहकार्य, छलफल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौँ, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन अगाडि बढ्ने छौँ ।’

यस्तै  गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक सुजेन्द्र तामाङले निर्वाचन नजिकिदै गएको अवस्थामा यस पटक आफूहरूले ढिलो प्रतिबद्धता पत्र सार्वजनिक गरेको बताए । उनले यस पटक घरदैलो कार्यक्रमको दौरानमा सर्वसाधारणको समस्या, राय र सुझाव सुनेर प्रतिबद्धता तयार गरिएकोले यो प्रभावकारी हुने बताए । उनले भने-‘विगतमा हामीले अगाडि नै प्रतिबद्धता पत्र सार्वजनिक गरेका थियौ, तर यस पटक हामीले जनताको राय, सुझाव, समस्यालाई बुझेर प्रतिबद्धता तयार गरेका छौँ । यो प्रतिबबद्धतापत्र भन्दा पनि जनताको समस्या समेटिएको प्रतिबद्धता हो । गठबन्धनलाई यो कार्यान्वयन गर्न पनि सहज हुनेछ ।’

प्रतिबद्धता निर्माण समितिका संयोजक केशव घिमिरेद्वारा प्रतिबद्धता पत्र कार्यक्रममा जसपा, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस तथा नेकपा एसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिबद्धता पत्र :