धरान : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानको विकासको जिम्मा आफूले लिने बताएका छन् । 

उनले देशकै विकासको जिम्मा नेकपा एमालेले लिएको बताउँदै धरानको विकासको जिम्मा किन नलिने भन्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम आएपछि सत्ता गठबन्धन दल पाखा लाग्ने बताएका छन् ।

ओलीले धरानको भानुचौकमा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रियता बोकेको एक मात्र पार्टी एमालेले देशैभरका स्थानीय तहको निर्वाचन जित्ने दाबी गर्दै निर्वाचन पश्चात् सत्ता गठबन्धन दलका नेताहरूको खटपटी बढ्ने बताए ।

चुनावी आमसभाको सम्बोधनको क्रममा अधिकांश समय सत्ता गठबन्धन दलका नेताहरूको आलोचना मात्रै गरेका अध्यक्ष ओलीले पाचदलले आफ्नो चुनावी प्रचार प्रसार खुलेर गर्न नसकेको बताए । उनले व्यांगत्म शैलीमा प्रचारप्रसारमा जाँदा गठबन्धन दलको चुनाव चिन्ह कुन हो भन्ने कुरामा अलमलिने मात्र हैन झगडा नै पर्ने अवस्था आएको बताउँदै एमालेको अवस्था त्यस्तो नभएको दाबी गरे ।

उनले कोही ओरालो लागेका, कोही आफ्नै पार्टीलाई लात मारेर अर्काको घर बनाउन गएका तथा जनधार नै नभएकाहरू एक ठाउँमा उभिएका पार्टीको अब जनताले भरोसा नगर्ने बताए । राष्ट्रियताको सवालमा एमाले जहिल्यै एक्लै उभिने बताउँदै देशको विकास भन्दा पनि सरकार कसरी टिकाउने भन्ने ध्याउन्नमा रहेका पार्टीले मुलुकका लागि  केही गर्न नसक्ने बताए । 

उनले तालमेल गरेर उठाएका उमेद्वारहरु पनि धेरै ठाममा जनताले नरुचाएका उम्मेदवार भएकाले निर्वाचन जित्नेमा गठबन्धनका दलहरूबिचमै विश्वास नभएको ठोकुवा गरे । उम्मेदवार उठाउँदा समेत गठबन्धनमा समस्या भएको उनको भनाई थियो ।

उनले अहिले देशैभरिका स्थानीय तहमा माहौल एमालेको भएको बताउँदै धरानमा समेत एमालेले जित्ने दाबी गरे । उनले स्थानीय तहमा कहीँ कतै एमालेले नजिते पनि प्रदेश र सङ्घीय निर्वाचनमा एमालेले जित्ने भएकोले स्थानीय स्तरको विकासमा एमालेले जिते धरानले विकासको गति लिने भएकोले यहाँका मेयर तथा उपमेयरका उमेद्वारलाई जिताउन धरानेहरुलाई आग्रह पनि गरे ।

एमाले सबैको साझा पार्टी भएकोले धरानको ऐतिहासिक, पुरातात्त्विक महत्त्वका मठ मन्दिर लगायतका कुराहरूलाई एमालेले संरक्षण गर्दै धरानलाई पर्यटकीय गन्तव्यको स्थल बनाउन प्रतिबद्ध रहेको समेत बताए ।

नेकपा एमाले चुनाव प्रचार प्रसार  समिति धरानको आयोजनामा चुनावी सभामा एमालेका तर्फबाट धरानबाट उम्मेदवार बनेकी मञ्जु भण्डारी सुवेदी, उपमेयर पदम सुब्बा इस्वो, धरानका २० वटै वडाका वडाध्यक्षका उम्मेदवार, पार्टीका जिम्मेवार कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।