धरान : धरानका लिम्बू बुद्धिजीवीहरूले धरानको विकास र समृद्धिको लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनुपर्ने बताएका छन् । 

छथरे समाज धरानले आयोजना गरेको लिम्बु बुद्धिजीवी तथा लिम्बु जन्य संघसंस्थाहरुको पदाधिकारीहरूको भेलामा सहभागी लिम्बू बुद्धिजीवीहरूले यस्तो बताएका हुन् । १ नम्बर प्रदेशका पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले सहजीकरण गरेको सो भेलामा छथरे समाजका अध्यक्ष देवकुमार पारघरीले यो स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आफ्नो दाबी प्रस्तुत गरे ।

यसैगरी छथरे समाजका पूर्व अध्यक्ष उमेशचन्द्र पारघरीले यसपटकको स्थानीय तह निर्वाचनमा मतपत्र मतदाता अलमलिने खालको भएकोले गठबन्धनका नेता तथा कार्यकर्ताहरूले चुनावी घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा पनि मतदातालाई दिन सुझाव दिए । 

कार्यक्रममा डा. रामनारायण कन्दङवाले नेपालमा चल्दै गरेको राजनीतिक संस्कृति तोडिनुपर्ने बताउँदै नमुना जनप्रतिनिधि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार हुनुपर्ने सुझाव दिए । उनले विश्वका विभिन्न देशका उदाहरणीय राजनीतिज्ञहरूको उदाहरण दिँदै डा. कन्दङवाले भने– लाहुरेको सहर धरानमा अव लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार नेपाली काँग्रेसका किशोर राई, उपमेयरका उम्मेदवार नेकपा माओवादीबाट आईन्द्र विक्रम बेघाको जीत सुनिश्चित भएको बताए ।

किरात याक्थुङ चुम्लुङका सङ्घीय उपमहासचिव डा. योगेन्द्र पालुङवाले स्थानीय चुनावमा लिम्बू जातिको सवाल र मुद्दाहरूमा प्रतिबद्धता जनाउनेलाई मतदान गर्ने चुम्लुङको निर्णय भएकोले त्यही गर्न आव्हान गरे ।  यसैगरी कार्यक्रममा प्राध्यापक हर्क इजमले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको विजयीका लागि आम लिम्बु समुदायलाई मतदान गर्न आव्हान गर्दै जित पछि नमुना काम गर्न आग्रह गरे । 

महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख चन्द्र फोम्बोले भेलालाई लिम्बू भाषामा सम्बोधन गर्दै कम्यिुनिष्टको सरकारले देश वरबारद भएको बताए । घरी के घरी के उखान टुक्काले देशको विकास र समृद्धि नहुने भन्दै केपी शर्मा ओलीको सरकारले देशमा ठुलो भ्रष्टाचार गरेको बताए । त्यसैले अव लोकतान्त्रिक वाम गठबन्धनको सरकार बनेर देशमा मौलाएको बेथितिको अन्त्य हुनुपर्ने फोम्बोले बताए । 

कार्यक्रममा जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बू लगायतले सम्बोधन गरेका थिए । सो भेलामा सहभागीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर जिताउने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयर आइन्द्रविक्रम बेघाले भेलालाई सम्बोधन गर्दै धरानको विकास र समृद्धि र आदिवासी जनजाति समुदायलाई समेटने खालका मुद्दामा सकारात्मक काम गरेर देखाउने प्रतिबद्धता जनाए ।