धरान : कोरोना महामारीका कारण यस भन्दा अघिका वर्षहरूमा हुन नसकेको साकेला उभौली यस पटक धरानमा धूमधामले हुने भएको छ । 

किरात राई यायोक्खा सुनसरीले पत्रकार सम्मेलन गर्दै वैशाखे पूर्णिमा अर्थात् जेठ २ गतेदेखि १४ गतेसम्म धरानमा विविध कार्यक्रमहरू आयोजना गरी भव्यरुपमा यस पटक साकेला उभौली मनाउने जानकारी दिएको छ । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार वैशाखे पूर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म आँगनमा स्यौली गाडेर धूमधामसँग साकेला सिली नाचेर यो चाडलाई मनाउने सांस्कृतिक परम्परा अनुसार नाच्ने गरिन्छ । 

किरात राईहरूले समय साल राम्रो होस्, अन्नबाली सप्रियोस्, सह बसोस् र अनिकाल नलागोस्, सबै जीव प्राणीहरूमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला नाचेर नयाँ अन्नबाली लगाउने चाडलाई नै साकेला उभौली भनिन्छ । किरात राई जातिको मौलिक सांस्कृतिक पर्व साकेला उभौलीको अवसरमा किरात राई यायोक्खाले साकेला सिली संरक्षण, संर्वद्धन, विकास र मौलिकतालाई बचाई राख्न धरानमा हरेक वर्ष प्राकसस्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । 

जेठ २ गतेदेखि सुनसरीका विभिन्न ठाउँ तथा प्राकसहरुमा साकेला सिली प्रदर्शनी कार्यक्रम हुनेछ भने जेठ १४ गते धरान १७ स्थित साकेला पार्कमा वडा प्रारम्भिक कार्यसमिति स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनी कार्यक्रम हुनेछ । यस पटकको प्रतियोगितात्मक सिली आराधानात्मक, अनुकरणात्मक र कृयाकलात्मक हुने बताइएको छ । सिली प्रदर्शनीमा प्रथम हुने टोलीले नगद ३० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले नगद २० हजार पुरस्कार पाउनेछन् ।

यस्तै, विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले नगद ७ हजार, ५ हजार र ३ हजार पाउने पत्रकार सम्मेलनमा यायोक्खाका सचिव नवीन राईले जानकारी दिए । साकेला सिली प्रदर्शनीमा प्रथम हुनेले रनिङकप पनि पाउने र सो रनिङकप निरन्तर ३ पटक प्रथम भएमा उसैले राख्न पाउने र नभए अर्को वर्ष जसले प्रथम स्थान हासिल गर्छ उसैले लान पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Talika