धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाका जितिसकेको एमालेले दाबी गरेको छ । 

एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले मेयरका प्रत्याशी दीपक बुढाथोकीले जितिसकेको भन्दै घोषणा मात्रै हुन बाकी रहेको बताएका छन् । 

“मेयरका उम्मेदवार अनुभवी व्यक्ति हुनुहुन्छ, यसअघिको कार्यकालमा पार्टीले जनताले चाहेका काम गरेको छ ।“ पराजुलीले भने “ जनताको विश्वास जितेको लोकप्रिय पार्टीले गरेका राम्रा काम सम्पन्न गर्न भावी नेतृत्व तम्तयार छ । “

मेयरका प्रत्याशी दीपक बुढाथोकीले  राजनीतिलाई पेसा नभई समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन् । चुनावी अभियानमा महालक्ष्मी २ का स्थानीयसँग कुरा गर्दै उनले अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै त्यसले निष्ठाको राजनीतिमा होमिएका इमानदार व्यक्तिको भावनामा ठेस पुग्नसक्ने बताए । 

“व्यापार र राजनीतिमा  आकाश– जमिनको फरक छ । व्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरूको सेवा गर्नु हो ।“ उनले भने “ सबै ठाउँको नेतृत्वमा राजनीतिक चेत बोकेको सुझबुझपूर्ण व्यक्ति पुग्नुपर्छ । त्यसले मात्रै जनहितमा काम गर्छ ।“ 

एमालेले जितेको महालक्ष्मी नगरपालिकामा उमेदवारहरुले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । नगरका तत्कालीन मेयर पर्शु नेपालले नगरमा पार्टीले पुनः जितिसकेको भन्दै मतदानको औपचारिकता मात्रै कुरिरहेको दाबी गरे । त्यस्तै पुनः उपमेयरको उम्मेदवार बनेकी मञ्जु अधिकारीले पहिलो कार्यकालको अनुभवले आगामी कार्यकालमा थप जनमुखी काम गर्ने बताइन । 

प्रदेश कमिटी सदस्य टङ्क चुहानले एमालेले जितको झन्डा फहराइसकेको भन्दै जनमुखी काम नै पुनः  जितको बलियो आधार रहेको तर्क गरे ।  

उनले मेयरका उम्मेदवार बुढाथोकी यसअघि दुई कार्यकाल जनप्रतिनिधिको रूपमा काम गरिसकेको र जनता माझ  इमानदार र परिचित व्यक्ति भएको हुँदा सहज जित हुने दाबी गरे   

एमाले प्रदेश १ कमिटी सदस्यसमेत रहेका बुढाथोकी महालक्ष्मीका पुराना कम्युनिस्ट नेता हुन् । २०४२ साल देखी अविचलित  राजनीतिमा सक्रिय उनी यसअघि तत्कालीन चानुवा गाविसको अध्यक्षमा दुई कार्यकाल निर्वाचित भैसकेका छन् । 

एमालेका उमेदवारसंग सत्तारुढ गठबन्धनका उम्मेद्बारहरु चुनावी मैदानमा छन् । तर, महालक्ष्मीमा सत्ता गठबन्धनका बिच तीव्र विवाद उत्पन्न भएको छ ।