धरान : निर्वाचन आयोगले शैक्षिक क्षेत्रमा चुनावी गतिविधि हुन नदिने आचारसंहिता उल्लेख गरे पनि निर्वाचन आयोगले नै यस्ता आचारसंहिता उल्लङ्घन गरेको पाइएको मानवअधिकारवादी संस्थाहरूले बताएका छन् ।

आयोगले निर्वाचन आयोगको कार्यालय नै विद्यालय क्षेत्रभित्र राख्ने लगायतका कुराहरू गरेको पाइएको जनाएको छ । आयोगले प्रदेश नं. १ का तीन जिल्ला अनुगमन पश्चात् यस्तो तथ्य सार्वजनिक गरेको हो ।

धरानमा आयोग र सञ्चारकर्मीहरूको अन्तरक्रियाका क्रममा आयोगका पदाधिकारीहरूले दलहरूले बारम्बार आचारसंहिता उल्लङ्घन गरे पनि निर्वाचन आयोगले भने आँखा चिम्लेर बसेको पाइएको जानकारी दिएको हो ।

आयोगकी सदस्य लिली थापाले निर्वाचन आयोगले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको बताइन् । उनले भनिन्–‘हामीले सुनसरी, झापा र इलाममा अनुगमन गर्‍यौ अधिकांश निर्वाचनको कार्यालय विद्यालय परिसर मै राखिएको पाइयो ।’ उनले धरानमा समेत पब्लिक स्कुलको भवनमा निर्वाचन कार्यालय रहेको उल्लेख गर्दै पालना गर्ने“ निकायले नै निर्वाचन आचारसंहिताको धज्जी उडाउने काम गरेको बताइन् ।

विगतको तुलनामा दलहरूले आचारसंहिता उल्लङ्घन गर्ने क्रम केही घटेको पाइए पनि पूर्ण रूपमा पालना भने भएको नपाइएको बताइन् । उनले भनिन–‘हामीले अहिलेसम्म प्रदेश नं. १ का सुनसरी, इलाम र झापामा अनुगमन गर्‍यौ, अनुगमनसँगै त्यहाँका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्‍यौ, यी ठाउँमा समेत सुनसरीमा पनि पाइयो ।’

उनले आचारसंहितामा उल्लेख भएको बालबालिकाको प्रयोग नगर्ने कुरालाई पूर्ण रूपमा पालना गरे पनि प्रचारप्रसारमा जथाभाबी झण्डा प्रयोग गरिएको, ठुलो आवाजमा जिंगल बजाएर प्रचार गरिएको लगायतका कामहरू गरे पनि यस विषयमा सञ्चारकर्मी तथा सर्वसाधारणले कुरा राखेमा निर्वाचन आयोगमा उजुरी आएकै छैन, उजुरी आएपछि मात्र कारबाही अगाडि बढाउन मिल्ने बताउँदै आएको बताइन् ।

यस्तै आयोगकी अनुगमन महाशाखा प्रमुख मञ्जु खतिवडाले आयोगले सात वटै प्रदेशमा अनुगमन गरेर निर्वाचन आयोगलाई यस विषयमा प्रतिवेदन बुझाउने बताइन् । उनले भनिन्–‘दलहरूले उल्लङ्घन गरेको आचारसंहिता सहित दलहरूले जनप्रतिनिधिमा उठाएका उम्मेदवारीका लैङिक समानता लगायतका कुरालाई पनि हामीले हेरेका छौँ । सातै प्रदेशमा हाम्रा मान्छेहरू खटिएका छन्, सबै प्रदेशबाट सङ्कलन भएको कुरा समेटेर हामी निर्वाचन आयोगलाई प्रतिवेदन दिन्छौँ, आयोगलाई आचारसंहिता पालना नहुनुको कारणबारे स्पष्टीकरण सोध्छौँ उनले भनिन् ।

उनले अहिले आचारसंहिता उल्लङ्घन गर्ने तौरतरिकामा फरक भएको बताएकी छिन् । उनले भनिन्–‘विगतमा खुल्ला मैदानमा बालबालिकालाई प्रचारमा लगाउने गरिन्थ्यो तर यस पटक प्राविधिक विकाससँगै सामाजिक सञ्जाल, टिकटकमा बालबालिकालाई प्रयोग गरेको पाइयो, यो अत्यन्तै दुःखद कुरा हो ।’

सञ्चारकर्मीहरूले धरान तथा सुनसरीका दलहरूको गतिविधिका बारेमा आयोगका पदाधिकारीलाई जानकारी गराएका थिए । सञ्चारकर्मीहरूले सुनसरीको सबै पालिकाकाका मुख्य बजारका चौकमा दलहरूले चुनावी गतिविधि गर्दा सर्वसाधारणले अनावश्यक रूपमा दुःख पाएको लगायतका कुराहरू राखेका थिए ।