झापा : एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेको विपक्षमा रहेको पाँच दलीय गठबन्धनमा अर्को दल पनि थपिएको छ । 

काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धनमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि थपिएको हो । राजपा बाट दमकको नगर प्रमुखका उम्मेदवार कृष्ण राया र उप प्रमुखका उम्मेदवार मेरी राजवंशीले आफूहरूको उम्मेदवारी निष्क्रिय राख्दै गठबन्धनका उम्मेद्वारहरुलाई समर्थन गर्ने जनाएका हुन ।

गठबन्धनको घर दैलो कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै राजपाका नगर प्रमुखका प्रत्याशी रायाले भोट माग्दै जनताकोमा जाँदा यस पटक गठबन्धनबाट प्रमुखमा राम थापा र उप प्रमुखमा रेविना भट्टराई प्रसाईँको पक्षमा जनमत देखिएकोले जनमतको कदर गर्दै गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको बताए ।

दमकका १० वटै वडामा घरदैलोको क्रममा नगर प्रमुख, उप प्रमुख सहित सम्पूर्ण वडाहरूमा गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन मतदाता आतुर भएको देखिएकोले जनताको इच्छा विपरीत राजनीतिकर्मी जान नसक्ने भन्दै उनले गठबन्धनलाई समर्थन गरेको बताए । विगत लामो समय देखीको एक पक्षीय नेतृत्वले दमकमा भ्रष्टाचार, बेथिति, अनियमितता बढाएको भन्दै दमकवासीहरू नेतृत्व परिवर्तनको लागी तयार रहेको राजपाका नेता रायाले बताए ।

राजपाको समर्थनले आफूहरूलाई खुसी तुल्याएको बताउँदै गठबन्धनका नगर प्रमुखका प्रत्याशी थापाले आगामी दिनमा दमक नगरको मुहार फेर्न सबै दलहरू मिलेर जाने र राजपाका उम्मेद्वारहरुको पनि भावना समेटिने प्रतिबद्धता जनाए ।