धरान : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि सुनसरी जिल्लामा ४ हजार ६ सय ४८ जना कर्मचारी खटाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार १ सय ६६ मतदान स्थलमा ५ सय ८१ मतदान केन्द्रका लागि ५ सय ८१ जना मतदान अधिकृत, ५ सय ८१ जना सहायक मतदान अधिकृत, १ हजार १ सय ६६ जना सहायक कर्मचारी, ५ सय ८१ सहयोगी कर्मचारी र १ हजार ७ सय ७३ जना स्वयम् सेवक गरी जम्मा ४ हजार ६ सय ४८ जना कर्मचारी खटाइएको छ । 

आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै 

निर्वाचन आयोगले आज र भोलि मतदान स्थलबाटै मतदाता परिचय पत्र वितरण गर्दैछ । 

जहाँको मतदाता हो त्यही मतदान स्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । मतदाता परिचय पत्र हराएर निवेदन दिएकाहरू, नयाँ मतदाता नवमालीका लागि फोटो खिचाएकाहरूलाई आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने बताइएको छ ।