धरान : निर्वाचन आयोगले स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि अन्य उपयुक्त सरकारी कागजातको आधारमा मतदानमा सहभागी गराउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो । 

मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवश: मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् । अघिल्ला निर्वाचनहरूमा जस्तै आयोगले यो पटक पनि फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाएको आयोगले जानकारी दिएको छ । 

आयोगले मतदाता परिचयपत्र नभए पनि नागरिकता वा अन्य सरकारी पहिचान खुल्ने कागजात जसमा फोटो टाँसिएको हुन्छ, त्यस्ता कागजात वा प्रमाण देखाएर मतदान गर्न सक्ने निर्णय आयोगले गरेको छ । आयोगले जारी गरेको सूचनामा मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने उल्लेख छ ।

Nirbachan-aayog-Suchana