धरान : १ नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । 

आज प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरूबाट झापा जिल्ला अन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका एरियाका अति संवेदनशील मतदान स्थल तथा मतगणना स्थलहरूको स्थलगत अनुगमन गरेको हो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसी., स.प्र.ना.म.नि. कमल गिरी, राष्ट्रिय अनुसन्धान का अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी इटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरे सँगै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग जिल्ला प्रशासन कार्यालय झापाको सभा हलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवले सबै सुरक्षा निकायहरूले सामूहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानीय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ–आफ्नो स्थानबाट उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिए ।

Jhapa-Anugaman-1

यसैबिच १ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसीबाट १ नं. प्रदेशका जिल्ला प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत स्थानीय तहको निर्वाचन २०७९ सम्बन्धी आवश्यक निर्देशन दिएका छन् ।

आज बिहान ७ बजे प्रदेश प्रहरी प्रमुखले स्थानीय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिएका हुन् ।

उनले मतदान अघि, मतदानको दिन र मतदान पश्चात् प्रहरीले सम्पादन गर्नु पर्ने भूमिका र निर्वाचन सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रहरीबाट त्रुटि रहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नु पर्ने समेत निर्देशन दिए ।

Video-confrence