धरान : धरानमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार शुक्रवार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म मतदान हुने गरी सम्पूर्ण तयारी पुरा भइसकेको छ । बिहीबार बसेको सर्वदलीय बैठकले शुक्रवार साँझ सम्ममा सबै मत पेटिका सङ्कलन गरी सक्ने र वैशाख ३१ गते शनिवार बिहान ८ बजे देखि मात्रै मतगणना सुरु गर्ने निर्णय भएको छ । 

निर्वाचन आयोगका अनुसार सुनसरीको १२ पालिका मध्ये धरानमा २०७४ सालमा ७९ हजार २ सय ८२ जना मतदाता रहेकोमा २०७८ मा २१ हजार ४२ जना थपिएर १ लाख ३ सय  २४ जना मतदाता पुगेका छन् । धरानमा पुरुष मतदाता भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । जस अनुसार पुरुष मतदाता ४७ हजार ४ सय ८ जना र महिला ५२ हजार ९ सय १६ रहेको छ । 

सुनसरी जिल्लामा १ सय ६६ स्थल र ५ सय ८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

जस अनुसार धरानमा १ सय ७, इटहरीमा १ सय ११, इनरुवामा ४७, दुहबीमा ४२, वराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोशीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जूमा २५, भोक्राहा नरसिंहमा २८ र हरीनगरमा २८ गरी जम्मा ५ सय ८१ मतदान केन्द्रबाट मतदान हुनेछ ।

Nirbachan-Tayari-2 5Nirbachan-Tayari-1 5