धनकुटा : मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि बिच विवाद हुँदा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान स्थगित भएको छ । 

मतदान प्रक्रियाको विषयमा दुवै पक्षबिच भएको विवादले मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताए । उनका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो । बाहिरको वातावरण होहल्ला र हुलदङ्गा भएको खबर सुनियो । सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिए पनि मतदान स्थगित भएको हो । मतदान स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत मत खसेको थियो ।

मतदान स्थलमा अशक्त मानिसको मत एक जनाले मात्र हाल्ने भनिएता पनि एक जनाले ४ जना अशक्तको मत लगाएपछि विवाद भएको हो । जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले पनि अशक्तको मत हाल्ने क्रममा विवाद भएको जानकारी दिए ।

धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले केही विवाद आएर छलफल भए पनि स्थगित भएको मतदान प्रक्रिया सञ्चालन गर्न नसक्दा मतदान नै स्थगित भएको छ ।