शुकदेव चौधरी

सुनसरी : सुनसरीको १२ पालिका मध्ये आठ पालिकामा १२ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । 

इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने दुहबी नगरपालिका १ मा र सीमावर्ती बर्जू गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादी, हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेपाली काग्रेंस र भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपा, वडा नम्बर २ मा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । धरानमा १ र ३ नम्बर वडामा काग्रेंस र २ मा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । इटहरी २० मा पनि नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने कोशी गाउँपालिका १ मा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ ।  

भोक्राहा नरसिंह गाउँपालिका–१ नम्बर वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण मेहता र उनको प्यानबाटै चार जना सदस्यहरू निर्वाचित भएका छन् ।

मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले जानकारी दिए । सो वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित भएका हुन् । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मियाँ ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतीदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित भएका छन् ।

त्यसैगरी सीमावर्ती हरिनगर गाउँपालिका–७ नम्बर वडामा नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल विजयी भएको छ । वडा नं ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उनकै प्यानलबाट चार जना सदस्यहरू निर्वाचित भएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिए । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अन्सारी र सईदुरहमान अन्सारी निर्वाचित भएका छन् ।

दुहबी नगरपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका मोहम्मद अजुल हुसेनले ९२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याएका छन् ।

त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काग्रेंसका प्रमोद पोखरेल र उनकै प्यानलबाट चार जना सदस्यहरू निर्वाचित भएका छन् । 

बर्जू गाउँपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुङले ९१६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मनोज गच्छदारले ६८९ मत ल्याएका छन् ।

कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उनका प्यानलबाटै चार जना सदस्यहरू निर्वाचित भएका छन् । यादवले ८७५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिएका छन् ।

यस वडामा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मल कुमार मण्डलले ७०९ मत ल्याएर पराजित भएका छन् । सदस्यहरूमा जसपाकै खुल्ला सदस्य निधिर मण्डल र भूपेन्द्र उराँव, महिला सदस्यमा निर्मला कुमारी मण्डल र दलित महिला सदस्यमा सतनीदेवी सदा निर्वाचित भएका छन् ।

उता भोक्राहा नरसिंह वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार आलम अन्सारी विजयी भएका छन् । 

त्यसैगरी धरान उपमहानगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्यले ७५७ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका छन् । यसै गरी वडा सदस्य तर्फ महिला सदस्यमा रहिसा कसजुले ८८९ मत, दलित महिला सदस्य रिता सुन्दासले ८६०, खुल्ला सदस्य तर्फ विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६ मत प्राप्त गरेर विजयी भएका छन् । 

धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई वडा अध्यक्षमा विजयी भएका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा २ मा एमालेबाट वडाध्यक्ष राईले ७४८ मत ल्याएर विजयी भएका छन् भने काँग्रेसका उम्मेदवार सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरेका छन् । एमालेबाट सदस्यमा विजयी समीर राई, दलित महिला सदस्यमा काँग्रेसका बुनु शङ्कर, महिला खुला सदस्यमा काँग्रेसकी उम्मेदवार सन्ध्या श्रेष्ठ र दिनेश अग्रवाल विजयी भएका छन् ।

त्यस्तै धरान–३ मा गठबन्धनबाट नेपाली काँग्रेसका विद्या शाक्यले १०८० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका छन् । यस वडामा महिला सदस्यमा उषा सुब्बा श्रेष्ठले १०४२, दलित महिला सदस्यमा शोभा विकले ५७५, खुल्ला वडा सदस्यमा मनिष खड्गीले ११०६ र मिङ्मा भोटे शेर्पाले ९९९ मत प्राप्त गरेर विजयी भएका छन् ।

इटहरी उपमहानगरपालिका २० नम्बर वडामा नेपाली काग्रेंसका मणिराम श्रेष्ठको प्यानल विजय भएको छ  ।

हरिनगर गाउँपालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महमद तैयव अन्सारी विजयी भएका छन् ।