धरान : धरान उपमहानगरपालिकाको वडानं ५ र ६ को मत परिणाम सार्वजनिक भएको छ । 

अन्तिम मत परिणाम अनुसार धरान ५ मा नेकपा एमालेबाट वडाध्यक्षमा मनप्रसाद लिम्बु थलङ र धरान ६ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई विजयी भएका छन् । धरान ५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

वडाध्यक्षमा एमालेबाट मनप्रसाद लिम्बु थलङले १६१५ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष लिम्बुलाई १६१ मतान्तरले पराजित गरेका हुन् । सन्तोष लिम्बुले १४५४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार धनकुमार राईले १०३९ मत प्राप्त गरेका छन् ।

यस्तै, दलित महिला सदस्यमा शान्तामाया विकले १५९८ मत, खुला महिलामा सुनिता राई १६२३ मत, यस्तै, खुला सदस्यतर्फ प्रेम दाहाल १५४० र विजय राई १५२४ मत ल्याएर विजयी भएका छन् । 

यसै गरी धरान ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भूपेन्द्र भट्टराई निर्वाचित भएका छन् । 

उनले निकटतम प्रतिस्पर्धी एमालेका हरिकुमार राईलाई ४९२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राईले १३२८ मत प्राप्त गरे । 

वडा सदस्यमा भने चारै जना एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य यशोदा सुवेदीले १४४४ मत, दलित महिला सदस्यमा देवीमाया विश्वकर्माले १४२६ मत, खुला सदस्यमा नारायण निरौलाले १५६७ मत र राजेन्द्र न्यौपानेले १४१३ मत पाएर निर्वाचित भएका छन् ।