धरान : झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

झापाको बिर्तामोड नगरपालिका-२ राम चोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्री बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको हो । सडकमा रोकिराखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडिको भागले ठक्कर दिँदा घाइते भएका काफ्लेलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा चालक र ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

यसै गरी  मोरङको सुनवर्षी नगरपालिका-६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा घाइते भएका सुनवर्सी नगरपालिका-५ का ४५ वर्षीय राज कुमार सरदारलाई उपचारको लागी बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।