धरान : धरान उपमहानगरपालिकाको वडानं. १५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

राति सम्पन्न भएको मत गणना अनुसार धरान-१५ को वडाध्यक्षमा नेकपा एमालेबाट नरेश इङ्वाराम दोस्रो पटक विजयी भएका छन् । उनले ३६०८ मत प्राप्त गरेर विजयी भएका छन् । इङवाराम २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् । उनको यो दोस्रो कार्यकाल हो ।

यसै गरी सदस्य तर्फ महिला सदस्यमा सिर्जना नेपालले २६८३, दलित महिला सदस्य तर्फ रचना नेपालीले २६३९, खुल्ला सदस्यमा रङ्गलाल गिरीले २५३३ र बादल भट्टराईले २४०३ मत प्राप्त गरेर विजयी भएका छन् । 

धरान-१५ को सम्पूर्ण मत गणना सम्पन्न हुँदा वडाध्यक्षलाई वडावासीले ३६०८ मत दिएका छन् तर मेयरका उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारीले भने १४०७ मत मात्रै प्राप्त गरेकी छिन् । मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले १५ नम्बर वडाबाट १४८१ मत प्राप्त गरेका छन् । यसै गरी स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३२६१ मत धरान १५ बाट मात्रै प्राप्त गरेका छन् ।