धरान : स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अव बाकी रहेको कार्यपालिका सदस्यको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय धरानले तयारी थालेको छ ।   

धरानमा मेयर र उपमेयरसहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, उपप्रमुख र वडाका जनप्रतिनिधिहरू चुनिए पनि निर्वाचन प्रक्रिया अझै बाकी रहेको छ । अब ८ जना कार्यपालिका सदस्यहरूका लागि निर्वाचन गर्न बाँकी रहेकोले सबै मत परिणाम घोषणा भएको दिनदेखि १५ दिनभित्र कार्यपालिका सदस्यहरूको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान अनुसार धरानमा कार्यपालिका सदस्यका लागि निर्वाचनको तयारीमा आफू लागेको निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए । 

धरानमा निर्वाचित १०२ जना जनप्रतिनिधि मध्येका महिलाबाट ५ जना र खुल्ला, दलित, अल्पसङ्ख्यक, पिछडाबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् । यसका लागि निर्वाचित १०२ जना जनप्रतिनिधिहरूले मतदान गर्न पाउनेछन् ।