धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा तेह्रथुम छथर गाउँपालिका–५ बस्ने २२ वर्षिया कौशिला चेम्जोङ रहेकी  छन् । भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको को ३४ प ११८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ३४ वर्षिया राम कुमार लिम्बु सामान्य घाइते भएका छन् ।

मोटरसाइकल चालक लिम्बूकी श्रीमती चेम्जोङ मोटरसाइकलको पछाडि सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी चेम्जोङको निधारमा चोट लागेको अवस्था बोल्न नसक्ने उपचारको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रबक्ता डिएसी चिरञ्जीवी दाहालले जानकारी दिए । 

मोटरसाइकल चालक लिम्बूको उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।