धरान : कम्युनिस्टको गढ भनिएको धरान उपमहानगरपालिकामा यस पटकको स्थानीय तह निर्वाचनको वडागत परिणाम हेर्ने हो भने नेकपा एमाले खुम्चिँदै गएको देखिन्छ । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा १४ वटा वडा जितेको नेकपा एमाले यस पटक १० वटा वडामा मात्रै जित निकाल्न सफल भएको छ । ०७४ सालमा ५ वटा वडा जितेको नेपाली काँग्रेसले भने थप २ वडामा जित निकालेर ७ वटा वडामा नेतृत्व प्राप्त गरेको छ । 

यस पटकको निर्वाचनमा नेकपा एमालेले धरानको २,४,५,७,८,१०,१२,१३,१५ र १९ गरी १० वटा वडामा जित निकालेको छ भने नेपाली काँग्रेसले १,२,९,११,१६,१८ र २० वडामा गरी ७ वटा वडामा जित निकालेको छ । 

यसै गरी धरान ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भूपेन्द्र भट्टराई विजयी भए भने धरान १४ मा राप्रपाबाट कृष्णप्रसाद भट्टराई विजयी भएका छन् । यस्तै धरान १७ मा नेकपा माओवादी केन्द्रबाट सूर्यबहादुर भट्टराई (मनोज) विजयी भएका छन् । 

पछिल्लो समय कम्युनिस्टको गढ धरानमा कम्युनिस्ट नेतृत्वलाई धराने जनताले स्विकार्न छाडेका छन् । आफ्नो निकै राम्रो प्रभाव धरानमा रहेको भन्दै चुनावी अभियानमा निकै तामझामका साथ उत्रिएका राजनीतिक दलहरूलाई स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) ले एक्लै जितेर देखाई दिए ।