धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरूको निर्वाचनको प्रक्रिया अघि बढेको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार मंगलबार कार्यपालिका सदस्य निर्वाचन कार्यपालिका प्रकाशन भइसकेको छ । बुधवार मतदाता नामावली प्रकाशन गरिएको छ भने बिहीबार १२ बजे सम्म मतदाता नामावलीमा दाबी विरोध र साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

जेठ १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । १४ गते निर्वाचन चिन्ह उम्मेदवारलाई प्रदान गरिने छ । १६ गते कार्यपालिका सदस्यहरूको निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

कार्यपालिका सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकामा विजयी भएका महिला जनप्रतिनिधिबाट ५ जना कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् भने बाकी ३ जना बाहिरबाट दलित, अल्पसङ्ख्यक र पिछडा वर्गबाट उम्मेदवार बन्न सक्नेछन् ।

५ जना महिला मात्रै हुनेछन् भने ३ जना महिला पुरुष जो पनि उम्मेदवार बन्न पाउनेछन् । निर्वाचनबाट ८ जना कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् भने धरान उपमहानगरपालिकामा स्थानीय निर्वाचनमा विजेता १०२ जना जनप्रतिनिधिले मतदान गर्न पाउनेछन् ।