चतरा : वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की नगरमा रहेको स्वास्थ्य संस्थाको अवलोकन गरेका छन् । पदभार ग्रहण गरेको दोस्रो दिन बिहीबार मेयर कार्कीले वराहक्षेत्र-६ चक्रघट्टिमा रहेको वराहक्षेत्र नगर अस्पताल र महेन्द्रनगर स्वास्थ्य चौकीको अवलोकन गरेका हुन। उनले अस्पताल निरीक्षणसँगै कार्यालयका प्रमुखसँग संस्थाको वर्तमान अवस्थाको बारेमा जानकारी लिएका थिए। 
नगर अस्पतालको सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय रूपमा प्रवाह गर्न नगर प्रमुख कार्कीले अस्पतालका व्यवस्थापनलाई निर्देशन समेत दिएका थिए। अस्पतालमा आवश्यक जनशक्ति र प्रविधि बारेमा जानकारी लिएका नगर प्रमुख कार्कीले अस्पतालले दिने सेवा छिटो र सहज बनाउन निर्देशन दिए। बिहीबार नै महेन्द्रनगर स्वास्थ्य चौकीमा पुगेर मेयर कार्कीले चौकीमा रहेको औषधी र सेवाबारे जानकारी लिएका थिए। 
नगरवासीलाई स्वास्थ्यको पहुँचमा ल्याउन योजना बनाएर काम गर्ने मेयर कार्कीले बताए। नगर भित्र रहेका अस्पताल, स्वास्थ्य केन्द्र, चौकी, उपस्वास्थ्य चौकी लगाएको क्षमता वृद्धि गर्न नगरपालिकालागि पर्ने कार्कीले बताए । नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाको अवलोकन गरी सेवा प्रवाहलाई थप गर्दै लैजाने मेयर कार्कीले बताए।