धरान : बिहीबार बिहान धरान ५ तल्लो देउरालीको सुन्दर बस्ती नजिकै फेला परेको शवको पहिचान खुलेको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार शव धरान ११ विष्णुचौक ठाडो सोलिङका ३१ वर्षीय सन्दीप लम्जेलको भन्ने पहिचान भएको छ । शवको पहिचान भए सँगै अनुसन्धान पनि अघि बढेको प्रहरी निरीक्षक रायले बताए । मृतक लम्जेल परिवारको एक्लो छोरो हुन् । उनी बुधवार साँझ ७ बजे तिर साथीसँग भेट्न जान्छु भनेर घरबाट हिँडेको परिवारले बताएका छन् । 

बिहीबार बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शवको गर्धनको पछाडि भागमा धारिलो हतियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको र घोचेर चोट बनाएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

शव पहिचान खुलेसँगै शुक्रवार पोस्टमार्टम हुने बताइएको छ । उनलाई अन्त कहीँ हत्या गरेर बगरमा फालिएको हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठको टोली, प्रदेश प्रहरी र सङ्घीय प्रहरी अनुसन्धानमा संलग्न रहेका छन् ।