धरान : इटहरीको एक निजी विद्यालयमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेर फरार रहेका प्रिन्सिपललाई प्रहरीले पाँच वर्ष पछि पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार २०७४ साउन २६ गते धरान-१० को एक होटलमा १६ वर्षीय छात्रालाई बलात्कार गरेको भनी २०७४ भदौ २ गते इलाका प्रहरी कार्यालय धरानमा जाहेरी परेको थियो । उनले आफ्नै विद्यालयमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेका थिए ।

प्रिन्सिपलले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि फरार भएका प्रिन्सिपल ३६ वर्षीय राजकुमार खडकालाई काठमाण्डौको त्रिपुरेश्वरबाट सिआइबीको टोलीले पक्राउ गरेको हो । उनलाई हिजो इलाका प्रहरी कार्यालय धरान ल्याइएको र आजै जिल्ला अदालत सुनसरीमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

खडका सिन्धुलीको कमलामाई नगरपालिका ७ घर भई इटहरी-५ को एक निजी विद्यालयमा प्रिन्सिपल भई काम गर्दै आएका थिए । उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि फरार भएका थिए । उनी काठमाण्डौको एक विद्यालयमा पढाउँदै आएका थिए ।